रुपन्देही:जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको हैकमवादी प्रवृतिका कारण पार्टी विभाजन गर्नुपरेको जसपाका महासचिव मोहम्मद इस्तियाक राईनले आरोप लगाएका छन ।

जसपा जिल्ला कार्यसमिति रुपन्देहीको घोषणासभालाई आइतबार भैरहवामा सम्बोधन गर्दै महासचिव राईनले अहिले जसपा नेपालमा २०६२ सालदेखि नेतृत्व गरेका केन्द्रीय नेताहरुमध्ये उपेन्द्र यादव एक्लै भएको दाबी गरे ।

उनले भने, ‘उपेन्द्रजीले व्यक्तिगत स्वार्थ, सत्ता र पद लोलुप्ताले जनमत भएका, जनाधार भएका र मधेश आन्दोलनमा योगदान गरेका नेतालाई सम्मान नगरेर अपमान गर्नुभयो । उहाँको एकलौटी निर्णय र एकदमै हैकमवादी चरित्र छ । नेताहरुलाई लखेट्नुभयो । अहिले उहाँ एक्लै बस्नुभएको छ ।’

महासचिव राईले पद र शक्तिका लागि उपेन्द्र यादवले रामसहाय प्रसाद यादवलाई सांसदबाट राजीनामा गराएर उपराष्ट्रपति बनाएको आरोप लगाए । उनले भने, ‘उपेन्द्रजीले सप्तरीबाट निर्वाचनमा पराजित भइसकेपछि पाँच वर्ष पर्खन सक्नुभएन । उहाँले मधेशी, जनजाति र देशभरका उत्पीडित समुदायका मुद्दा बेचिसक्नुभएको छ ।’

उनले आफूहरु मधेशसँगै देशका सम्पूर्ण उत्पीडित समुदाय र वर्गको मुक्ति, समानुपातिक समावेशी प्रतिनिधित्वको ग्यारेन्टी र राज्यका सम्पूर्ण अंगमा सहभागिताको लक्ष्यका साथ अघि बढेको बताए । महासचिव राईले अशोक राईको नेतृत्वमा रहेको जसपामा आबद्ध हुन र यो अभियानमा एकताबद्ध भएर लक्ष्य प्राप्तिमा अगाडि बढ्न आग्रह गरे ।

पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादवले उपेन्द्र यादवकै कारण पार्टी विभाजन भएको बताए । उनले ५४ सीट पाएको पार्टी अहिले ५ सीटमा सीमित भएको बताए । कार्यक्रममा केन्द्रीय सदस्यहरु मनिकर कार्की, नवीन सुनुवार, अलाउद्दिन मुसलमान, पूर्वमन्त्री भण्डारीलाल यादव, युवा नेता अकरम खाँ, जयप्रकाश यादव, रामकेश धवल, जसपा कपिलवस्तुका सचिव उदयभान यादव, योगेन्द्र चौधरी, असलम खान, मोहम्मद अलीलगायतले भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको