एकातर्फ जनकपुरधाम लगायत देशका विभिन्न भागमा वर्षौदेखि विद्युत समस्या रहेको छ । तर नेपाल विद्युत प्राधिकरणले खरीद गरेको अर्बौ रुपैयाको ट्रान्सफर्मर अर्कोतर्फ प्रयोग नभई झारीमा अलपत्र परेको छ ।

प्रयोगमा ती ट्रान्सफर्मर नल्याउनुले प्राद्यिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कमिसनका लागि सो ट्रान्सफर्मर खरिद गरेर अलपत्र पारेको आरोप लाग्न थालेको छ ।

सार्वजनिक लेखा समितिमा परेको उजुरीमा एक वर्षमा बढीमा डेढ अर्बको सामान खरिद गरेर स्टोरमा राख्न पाइने भएपनि करिब २० अर्ब बराबरको ट्रान्सफर्मर किनेर हेटौंडा, भक्तपुरको खरिपाटीलगायत स्थानमा अलपत्र पारेको आरोप लगाइएको छ ।

लेखा समितिमा दर्ता भएको भिडियोसहितको उजुरीमा प्राधिकरणले राखेका सामानहरूमाथि झार उम्रिएको देख्न सकिन्छ । २०७८ भदौ २२ गते हालका प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले ट्रान्सफर्मर खरिद गर्दा करोडौं भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

कास्कीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले हेटौंडालाई घिसिङले नक्कली ट्रान्सफर्मरको शहर बनाएको टिप्पणी गरेका थिए । ओलीले भ्रष्टाचार गर्ने मान्छे खोजीखोजी ल्याएर प्राधिकरणको जिम्मा दिएको भन्दै तत्कालीन सरकार ’बहादुर’ रहेको टिप्पणीसमेत गरेका थिए ।

समितिमा परेका उजुरीमाथि छानबिन भइरहेको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बताए । ‘१० वटाभन्दा बढी उजुरी परेका छन्,’ उनले भने, ’त्यसको छानबिन हुँदैछ । आगामी बैठकमा यसबारे वृहत् छलफल हुन्छ ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको