जनकपुरधाम : आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होटल संघ पोखराको अगुवाईमा दुई दशकदेखि चलिरहेको ‘जाउँ है पोखरा’ अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको छ ।

सोमबार जनकपुरधाममा आयोजित एक कार्यक्रमका बीच आन्तरिक पर्यटन प्रवद्र्धन तथा व्यवसायिक सहकार्यलाई मूल उद्देश्य बनाएर सञ्चालन गरिएको यो अभियानले सकारात्मक प्रभाव पार्दै आएको संघले जनाएको छ । गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्डको मुख्य प्रवद्र्धनमा यही फागुन १८ गतेदेखि २२ गतेसम्म पूर्वी नेपालका जनकपुरधाम, विर्तामोड, इटहरी, बर्दिबास, र हेटौंडा जस्ता शहरमा अभियान सञ्चालन भइरहेको छ । यस अभियानमार्फत पोखरामा पूर्वी नेपालका पर्यटकलाई आकर्षित गर्ने र पोखराबाट समेत पर्यटकलाई ती शहरहरूमा पठाउने लक्ष्य राखिएको छ ।

गत चैत ४ गते पोखरा औपचारिक रूपमा ‘पर्यटन राजधानी’ घोषणा भइसकेको छ भने नेपाल सरकारले सन् २०२५ लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरिसकेको छ । पर्यटन क्षेत्रको समृद्धिका लागि पूर्व–पश्चिम क्षेत्रीय सम्बन्ध मजबुत बनाउन सिधा हवाई उडान तथा स्तरीय बस सेवा सञ्चालनका लागि पहल गर्न संघले सम्बन्धित पक्षलाई अपिल गरेको छ ।

जाउँ है पोखरा अभियानले आयोजना गरेको सो कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै मधेसको उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाले मधेस प्रदेशसभाबाट पर्यटन सम्बन्धि विधेयक पारित भई सकेकाले मधेसमा पनि अब पर्यटनले फडको मार्ने विश्वास व्यक्त गरे । उनले पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

होटेल संघ पोखराको अध्यक्ष लक्ष्मण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादव, पर्यटन व्यवसायीहरुका साथै विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको