 
							जनकपुरधाम : सुन तस्करीका अभियुक्त भारतीय नागरिकले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । पश्चिम बंगालको हावडा जिल्लास्थित डोमजुर थानाअन्तर्गत बदमपुर टोल घर भएका बुद्धदेव मैतीले गृहमन्त्री लेखकलाई भेटेका हुन् ।
मैतीले गतसाता काठमाडौँमै गृहमन्त्री लेखकलाई भेटेका हुन् । भेटका क्रममा मैतीले गृहमन्त्रीसँग तस्बिर पनि खिचाएका छन्। मैती सुन र हीरा ओसारपसारका अभियुक्त हुन् ।
उनलाई २०८० वैशाख २२ गते करिब ११ बजेको समयमा पर्साको वीरगन्ज महानगरपालिका वडा नं १६ शंकाराचार्य गेटबाट प्रहरीले तस्करीको सामानसहित पक्राउ गरेको थियो ।
भारतबाट वीरगन्जतर्फ आउँदै गर्दा शंका लागेर प्रहरीले जाँच गर्दा अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको २२४.८०० ग्राम सुनका सिक्रीहरू र १४९.२५ ग्राम हीरा फेला पारेको थियो ।
उनले उक्त सामान खरिद गरेको बिल र भन्सार तिरेको रसिद बुझाउन सकेका थिएनन् । जिल्ला प्रहरी कार्यालय पर्साले २०८० वैशाख २४ गते थप कारबाहीका लागि प्रतिवेदनसहित राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाएको थियो ।
बरामद सामानको परीक्षणका लागि पर्सा सुनचाँदी व्यवसायी संघले सुनका सिक्रीहरूको शुद्धता ८५ प्रतिशत कायम गरेको थियो । त्यसअनुसार सुनको तौल १८१.०८० ग्राम कायम भएको थियो । त्यतिबेला प्रचलित दर रेट अनुसार १८ लाख ३९ हजार ८१८ रुपैयाँ कायम गरिएको थियो ।
हिराबापत समेत गरी २९ लाख ४४ हजार ६३३ बजार मूल्य कायम भएको भन्दै उनीविरुद्ध ३० लाख रुपैयाँ धरौटी माग गरेको थियो ।
मैतीले राजस्वले माग गरेको धरौटी राष्ट्रिय वाणिज्य बैंक कलैयामा बुझाएर भौचर पेस गरेका थिए । उनलाई त्यसपछि साधारण तारेखमा रिहा गरिएको थियो। तर राजस्वले २०८० माघ २२ गते फैसला सुनाएको थियो ।
त्यसअघि नेपाल राष्ट्र बैंकले उनीबाट बरामद भएका सामानको मूल्य निर्धारण गरेको थियो । टक्सार महाशाखाले सुनका गरगहना गाल्दा २१७ ग्राम यकिन भएको र उक्त मितिमा सुनको बजार मूल्य प्रति १० ग्राम ९६ हजार २८० रुपैयाँ दरले ३१ लाख ९४४ हजार १९१ रुपैयाँ कायम भएको थियो ।
मैतीले धरौटी राखेको ३० लाख रुपैयाँ कट्टा गरी थप १ लाख ९४ हजार १९१ रुपैयाँ थप माग गरिएको थियो । उनलाई उक्त रकमसमेत दाखिला गर्न लगाइ खोजेका बखत उपस्थित हुने र नभएमा धरौटी रकम जफत गर्ने सर्तमा छाडिएको थियो ।
राजस्व अनुसन्धान कार्यालयले ५० लाखसम्म बिगो कायम भएका मुद्दामा आफैँ फैसला गर्न सक्छ। त्यो भन्दामाथिको मुद्दा सम्बन्धित क्षेत्रको उच्च अदालतमा दायर गर्छ । मैतीको मुद्दा पनि राजस्व कार्यालयले नै आदेश गरेको हो ।
सुन तथा हिरा तस्करीका उनै भारतीय अभियुक्तलाई गृहमन्त्रीले भेटेका हुन् ।


 
												 
												 
												 
												 
												 
												 
											 
											 
											 
											 
											 
											 
								 
								 
								 
								