 
							जनकपुरधाम : भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा अनुसन्धान जारी छ । उडिसास्थित भुवनेश्वर प्रहरीले उक्त प्रकरणको अनुसन्धान अन्तिम चरणमा पु¥याएको हो । अनुसन्धान सकेर अदालतमा पेस गर्ने तयारी गरिएको प्रहरीले गरेको छ ।
प्रहरीसँगै मानव अधिकार आयोगलगायत छुट्टाछुट्टै चार वटा निकायले घटनाबारे छानबिन गरिरहेका छन् । बुटबलकी २० वर्षीया प्रकृतिको शव १६ फेब्रुअरी २०२४ मा उनको होस्टेल कोठामा फेला परेको थियो ।
लखनऊका २१ वर्षीय अद्विक श्रीवास्तवले दुव्र्यवहार गरेको तथा मानसिक तनाव दिएको भन्दै उनले आत्महत्या गरेकी थिइन् । उनको मृत्युपछि आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीलाई होस्टेल र कलेज खाली गर्न निर्देशन दिइएको थियो । घटनाले उग्र रूप लिएपछि नेपाल र भारतभर चर्चा चलेको थियो ।
उक्त घटनापछि प्रहरीले १७ फेब्रअरीमा श्रीवास्तवलाई पक्राउ गरेको थियो । उनी यतिवेला प्रहरी हिरासतमा छन् । यो बिचमा उनी रिहाका लागि अदालत पनि पुगेका थिए । तर, हिजोसमेत अदालतले उनलाई रिहा गर्न अस्वीकार गरेको एक नेपाली विद्यार्थीले बताए ।
‘रिमान्डमा बेलका लागि अदालतमा पेस गरेका थिए । तर हिजो मात्रै अदालतले रिहा गर्न अस्वीकार गरेको छ,’ ती विद्यार्थीले भने । प्रहरीले श्रीवास्तवलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । तर, उनले भने आफूलाई प्रहरीले विनाकारण पक्राउ गरेको बताएका छन् । अदालतले उनको अपिल अस्वीकार गरेको छ ।
प्रकृतिका बुबा सुनिल लम्सालका अनुसार प्रहरीले अनुसन्धान अन्तिम चरणमा पु¥याएको छ । भारतीय प्रहरी अधिकृत देवदत्तको नेतृत्वमा घटनाबारे अनुसन्धान भइरहेको छ भने अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।
केसलाई बलियो प्रमाणसहित अदालत लैजाने तयारी गरेको भारतीय प्रहरीले पछिल्लो पटक भएको कुराकानीमा सुनिएको सुनिलले बताए ।
सुरुमा श्रीवास्तवले अडियो आफ्नो नभएको जिकिर गर्दै आए पनि अहिले फरेन्सिक रिपोर्टमा उनकै भएको पुष्टि भएको छ । जसले गर्दा प्रहरीलाई अनुसन्धानमा थप बल मिलेको छ ।
यसअघि प्रकृतिले उक्त केटाले आफूलाई टर्चर गरेको भन्दै कलेजमा दुई पटक उजुरी गरेकी थिइन् । उजुरीमा लेखिएका अक्षरहरू समेत प्रहरीले फरेन्सिक परीक्षण गरेको थियो । उजुरीमा भएको अक्षरसमेत प्रकृतिकै भएको भारतीय प्रहरीले जानकारी दिएको ती विद्यार्थीले बताए ।
त्यो वेला प्रकृतिले दिएको उजुरीमा श्रीवास्तवकै कारण डिप्रेसनमा जाने अवस्था आएको र अब यस्तै भई सुसाइडसम्म गर्ने लेखिएको थियो । जुन कलेजमा परेको उजुरीमा उल्लेख छ ।
त्यसवेला कलेज प्रशासनले श्रीवास्तवका बुवालाई बोलाएर चेतावनीसमेत दिएको बताएका लम्सालले आफूलाई भने खबर नै नगरेको गुनासो गरेका छन् । कम्तीमा इमेल गरेको भए आफूहरू त्यहाँ पुग्ने उनले बताए ।
त्यो वेला कलेजले लापरबाही गरेको लम्सालले आरोप लगाए । उनले केसमा एकपछि अर्को बलियो प्रमाण भेटिएकाले अब अदालतबाटै न्याय पाउने विश्वास व्यक्त गरे । आफूहरूले कुनै क्षतिपूर्ति कहिल्यै नमागेको तर दोषीलाई हदैसम्म कारबाही गर्न लागिपरेको उनले प्रस्ट पारे । प्रहरीले प्रमाण जुटाउने काम गरिरहेकाले आफूले पटक–पटक घटनाबारे नसोधेको उनको भनाइ छ ।
प्रकृतिको मृत्यु प्रकरणले अशान्त बनेको विश्वविद्यालय यतिवेला भने लयमा फर्किएको छ । अधिकांश विद्यार्थी विश्वविद्यालय पुगेर पठनपाठन तथा परीक्षामा सामेल भएका एक विद्यार्थीले बताए । ‘लगभग सबै विद्यार्थी आइसके । चौथो वर्षका विद्यार्थी कमै आएका छन् । उनीहरू तत्काल आउनुपर्ने अवस्था पनि छैन,’ ती विद्यार्थीले भने ।
घटना हुनुअघि विश्वविद्यालयले फेब्रुअरी २८ तारिखबाट परीक्षा तालिका तोकेको थियो । तर, उक्त घटनापछि नेपाली विद्यार्थी कलेजमा बस्न सक्ने अवस्थामा थिएनन् । अवस्था सामान्य बन्दै गएपछि विश्वविद्यालयले नेपाली विद्यार्थीको अनुरोधमै १० मार्चबाट परीक्षा गरेको थियो । त्यो वेला परीक्षा दिन नसकेका विद्यार्थीका लागि भने २४ मार्चबाट परीक्षा सुरु भएको एक विद्यार्थीको भनाइ छ ।
‘सुरुमा २८ फेब्रुअरीबाट परीक्षा गर्ने भन्ने थियो । त्यो वेला विद्यार्थीहरूले परीक्षा नदिने भनेका थिए । अहिले नदिने भनेपछि १० मार्चबाट गरिदिन्छौँ भनेका थिए । त्यो वेला पनि दिँदैनौँ भने जहिले भन्छौँ त्यहीले सारिदिन्छौँ भनेको थियो,’ ती विद्यार्थीले भने ।
१० मार्चबाट समेत परीक्षा दिन नसक्ने विद्यार्थीका लागि अतिरिक्त कक्षाको व्यवस्था गरेर २४ मार्चबाट सुरु गरेको हो । अहिले विद्यार्थीले सहजै परीक्षा दिइरहेका र अवस्था पनि सामान्य बनेको विद्यार्थीको भनाइ छ ।
विश्वविद्यालय र प्रदेश सरकारले प्रकृतिको नाममा छात्रवृत्तिको स्थापना गर्ने घोषणा गरेको थियो । त्यो आगामी वर्षबाट सुरु हुने जनाइएको छ ।


 
												 
												 
												 
												 
												 
												 
											 
											 
											 
											 
								 
								 
								 
								