राष्ट्रिय स्‍वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)को चुनावी दौडाहामा सहभागी भएका पत्रकार दिनेश सिटौलाको निधन भएको छ।

चुनावी दौडाहाको क्रममा शुक्रबार अछाममा बिरामी भएका सिटौलाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँस्थित ग्राण्डी अस्पताल ल्याएकोमा उनको उपचारकाक्रमा आइतबार निधन भएको हो।

अस्पतालले विज्ञप्ति जारी गर्दै सिटौलाको आइतबार दिउँसो १२:४५ बजे निधन भएको जानकारी दिएको छ। ग्राण्डीमा आइसियूमा राखेर उनको उपचार गरिएको थियो।

नुवाकोटका ४३ वर्षीय सिटौला शुक्रबार बिहान अछामको मंगलसेन नगरपालिका ४ मा बिरामी परेको बताइन्छ। उपचार सुरु भएको तीन दिनसम्म पनि उनकोबारेमा अस्पतालले जानकारी नगराएको भन्दै आलोचना भएको थियो।

सिटौलाको उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई अछाममै ब्रेन ह्यामरेज भएको थियो र उनलाई शल्यक्रिया गर्ने नमिल्ने अवस्थामा ग्राण्डी ल्याइएको थियो।

माघ ६ गते झापा ५ पुगेर उम्मेदवार मनोनयन गरेका बालेन पूर्वी नेपालको चुनावी दौडाहा सकेर पश्चिम नेपाल पुगेका थिए। उनीसँगै सिटौलासँगै अन्य सञ्चारकर्मी पुगेका थिए।

अछाम प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक (इन्सपेक्टर) मीनबहादुर धामीकाअनुसार अछाममा शुक्रबार बिहान करिब साढे ९ बजेतिर बालेनको टिमले चियापान गरेको थियो।

रास्वपाबाट अछाममा उम्मेदवार रहेका भूपदेव शाहको घरमा चियापान गरेर उनीहरू निस्किएका थिए। त्यसक्रममा प्रहरीले बालेनको टिमलाई स्कटिङ गरेको थियो।

अगाडि प्रहरीको गाडी थियो। बिचमा बालेन र पछाडी सिटौलालगायत चढेको गाडी थियो। सिटौला गाडी रोकिएपछि झर्नेबेलामा लडेको बताइएको छ।

यद्यपि उनी लडेका हुन् वा होइनन् भन्नेबारे अछाम प्रहरीलेसमेत आजसम्म अनुसन्धान गरेको छैन। ग्राण्डी अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार उनी बेहोस भएको मात्र बताइएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको