जनकपुरधाम ।
नेकपा एमालेबाट धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा उम्मेदवारी दिएकी जुलीकुमारी महतोले यहाँका मतदाताले आफूमाथि पुनः विश्वास गर्ने दाबी गरेकी छन् । २०७९ सालको निर्वाचनमा मतदाताले आफूलाई दिएको साथ र विश्वास यस पटक पनि कायम रहने उनको भनाइ छ ।
आइतबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ कपिलेश्वरमा आयोजित घरदैलो कार्यक्रममा पुगेकी महतोले स्थानीयले गरेको स्वागतप्रति आभार व्यक्त गर्दै भनिन्, ‘पछिल्लो निर्वाचनमा यहाँका मतदाताले काम गर्ने अवसर दिनुभएको थियो । सोही अनुसार काम अघि बढाइएको थियो, तर कार्यकाल पूरा हुन नपाउँदै पुनः निर्वाचनमा होमिनु परेको छ ।’
उनले सुरु गरिएका विकास योजनाहरू अधुरै रहेकाले ती योजनाहरू आफूले नै पूरा गर्ने विश्वास मतदातामा रहेको दाबी गरिन् । कार्यकाल पूरा नहुँदै निर्वाचनमा जानुपर्ने परिस्थिति सिर्जना भएकाले मतदाताले पुनः अवसर दिने उनको विश्वास छ ।
उम्मेदवार महतोले बिना नीति र स्पष्ट भिजनका केही नयाँ दलहरूले पुराना दलप्रति मतदातामा वितृष्णा फैलाउने प्रयास गरिरहेको आरोप लगाइन् । उनले एमाले संविधानको रक्षा र राष्ट्रिय स्वाधीनताको सवालमा निरन्तर संघर्षरत दल रहेको बताउँदै यी विषयमा यहाँका मतदाता जानकार रहेको उल्लेख गरिन् ।
एमाले नेतृत्वको सरकारले देशको विकास र समृद्धिको स्पष्ट दृष्टिकोण बोकेको दाबी गर्दै उनले मधेस प्रदेशको विकासका लागि नेपाल रेलको स्तरोन्नति, सुनकोशी–मरिन–कमला डाइभर्सन आयोजना तथा जनकपुरधामलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाइएको स्मरण गराइन् ।
यी विकास योजनाबारे मतदाता जानकार रहेकाले पुनः एमाले नेतृत्वकै सरकार निर्माण गर्ने जनचाहना रहेको उनले दाबी गरिन् ।

