जनकपुरधाम: जानकीको जन्मोत्सवलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने मागसहित जनकपुरधाममा शनिबार दबाबमूलक ¥याली सम्पन्न भएको छ । जानकी मन्दिर परिसरबाट सुरु भई नगरका विभिन्न भाग परिक्रमा गर्दै फर्किएको ¥यालीमा साधु–सन्त, धर्मगुरु, विभिन्न धार्मिक संघसंस्था, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो ।

¥यालीमा सहभागीहरूले ‘जननी जानकीको अपमान किन?’, ‘जानकी नवमी राष्ट्रिय विदा हुनुपर्छ !’, ‘हाम्रो आस्था, हाम्रो अधिकार !’, ‘जनकपुर हाम्रो गौरव हो’ जस्ता नारासहित प्रदर्शन गरे । उनीहरूले आगामी वैशाख २३ गते जानकी नवमीका दिन सार्वजनिक विदा घोषणा गर्न सरकारसमक्ष कडा माग प्रस्तुत गर्दै चेतावनी दिए ।

¥यालीको नेतृत्व गरेका जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले संघीय सरकारप्रति चासोहीनता र भेदभावपूर्ण दृष्टिकोण देखाएको आरोप लगाए ।

‘जानकी नवमी केवल पर्व होइन, यो हाम्रो धार्मिक, सांस्कृतिक र ऐतिहासिक अस्तित्वसँग गाँसिएको पवित्र दिवस हो,’ महन्थ दासले भने, ‘बुद्ध जयन्तीमा विदा हुन्छ । तर, जानकी नवमीमा किन हुँदैन? के नेपाल धर्मनिरपेक्ष राष्ट्र होइन?’

उनले जानकी नवमीलाई राष्ट्रिय मान्यता नदिइनु हिन्दू धर्मावलम्बीहरूको भावनामा कुठाराघात भएको बताए । ‘जानकीको सम्मान नगर्ने सरकारले धर्मनिरपेक्षताको अर्थ नै बुझेको छैन,’ महन्थले आक्रोश पोखे ।

उनका अनुसार जानकी नवमी मिथिलाञ्चल वा तराईको सीमाभित्र मात्र सीमित नभई सम्पूर्ण भारत–नेपालको साझा सांस्कृतिक सम्पदा हो । ‘जसरी रामको अयोध्या हिन्दूहरूका लागि पवित्र छ, त्यसैगरी जानकीको जनकपुर पनि त्यतिकै पवित्र भूमि हो,’ उनले भने, ‘यदि अयोध्या गौरव हो भने जनकपुर उपेक्षित हुनु अन्याय हो ।’

यसअघि वैशाख ७ गते नै साधु–सन्तहरूले धनुषा प्रशासनमार्फत प्रधानमन्त्रीलाई सम्बोधित ज्ञापनपत्र बुझाइसकेका छन् । ज्ञापनमा जानकी नवमीलाई राष्ट्रिय विदा घोषणासँगै जनकपुरलाई ‘राष्ट्रिय गौरव सूची’मा राख्न माग गरिएको थियो । तर, सरकारले अहिलेसम्म कुनै पनि औपचारिक जवाफ दिएको छैन ।

कार्यक्रममा बोल्दै विश्व हिन्दू परिषद नेपालका अध्यक्ष सन्तोष साहले भने, ‘यदि नेपाल साँच्चिकै धर्मनिरपेक्ष हो भने सबै धर्म–संस्कृतिको समान सम्मान सुनिश्चित गर्नुपर्छ । तर, जानकी नवमीजस्ता पर्व बेवास्ता गर्नु भनेको हिन्दू जनताको आस्थामा चोट पुर्याउनु हो ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको