निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पालना र उल्लघङ्न गर्नेलाई कारवाही गर्न सक्रियता बढाएको छ । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ ।
गएको माघ ४ गतेदेखि लागू भएको आचारसंहिताको पूर्ण पालना गर्न/गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय आचारसंहिता अनुमगन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा अहिलेसम्म राजनीतिक दल, उम्मेदवार र संस्था गरी २१ वटा स्पष्टीकरण सोधिएको छ । त्यसमध्ये पाँच वटाको मात्रै जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको आयोगले जनाएको छ ।
आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या एवम् भ्रमपूर्ण र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनीकार्य गर्ने व्यक्ति वा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउन पहल भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सूचना सदाचार प्रबद्धन इकाइ पूूर्णरूपमा क्रियाशिल रहेको आयोगले जनाएको छ । इकाइले पत्ता लगाएका कूल ३ सय २ हानीकारक सूचना निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रिोनिक) कारोबार ऐन, २०६३ र प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारवाहीका लागि सम्वद्ध निकायमा पठाइएको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।
आचारसंहिताविपरितका कुनै पनि गतिविधि भएमा आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश/जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला आचारसंहिता अनुमगन अधिकृत समक्ष लिखित, मौखिक एवम् विद्युतीय माध्यमबाट उजुरी दिन सकिने आयोगले जनाएको छ ।

